
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको र सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको जनाउँदै उहाँले जनताबाट आवधिकरुपमा निर्वाचित भएर राजनीतिक दलबाट गठन भएको सरकार मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्षम हुने जिकिर गर्नुभयो ।
सरकारमाथि सबैले विश्वास गर्नुपर्ने भन्दै कमी कमजोरी भए खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै गृहमन्त्री लेखकले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र कारबाही जहिले पनि हुनसक्ने स्पष्ट पार्नुभयो ।
गृहमन्त्री लेखकले नुवाकोटको शेरादरबारको जग्गा हिनामिना सम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिनुभयो । जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा भए त्यो सरकारले फिर्ता गर्ने उहाँको भनाइ थियो ।
गैरकानुनी ढङ्गबाट भएको भ्रष्टाचारजन्य कार्य, सरकारी र सार्वजनिक सम्पत्तिका हिनामिनामा सरकार चुप नलाग्ने र सरकारी सम्पत्ति फिर्ता ल्याउने उहाँले बताउनुभयो ।