राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकाल पुन: पार्टीमै फर्किन हारगुहार गर्न थालेका छन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध लागेको भन्दै उनी रास्वपाबाट निष्कासनमा परेका थिए । ढकालले रविको कार्यशैलीले पार्टी बन्न नसक्ने भन्दै रोष प्रकट गरेका थिए । ‘गृहमन्त्री हुँदासमेत लामिछानेले राम्रोसँग काम गर्न नसकेको’ भन्दै ढकालले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए ।
ढकालले केही जिल्ला घुमेर प्रतिवेदन तयार पारेका थिए । प्रतिवेदनमा ढकालले सभापति लामिछाने सच्चिनुपर्ने राय समावेश गरेका थिए । तर, पार्टी अनुशासनबाहिर गएको भन्दै गत असार २५ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गर्यो । योसँगै केन्द्रीय समिति बैठकको निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरवलोकन गर्न भन्दै समय दिएको थियो । तर त्यसमा ढकालले पुनरावेदन भने गरेनन् । बरु आफूमाथिको कारबाही नै अवैधानिक रहेको भन्दै ढकालले निर्वाचन आयोगमा उजुरी दिए । यद्यपि यसबारे आयोगले अहिलेसम्म कुनै निर्णय भने नगरेको अवस्था छ ।
रास्वपाको भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी साधारण सदस्यबाटै निष्कासन गर्यो । ‘ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले कारबाही गर्नुपरेको हो,’ रास्वपाका नेता मनीष झाले भनेका थिए । यसअघि दुईपटक स्पष्टीकरण सोध्दा ढकालले सभापति लामिछानेमाथि नैतिकताको प्रश्न उठाए । रास्वापालाई रवि लामिछाने क्लब बनाइएको दाबी गरिरहे । कतैबाट उनी सन्तुष्ट नभएको अवस्थामा अहिले पुन: रास्वपामै फर्किन हारगुहार लगाइरहेका छन् । पार्टीको पुरानै जिम्मेवारीमा फर्किन उनले विभिन्न च्यानल प्रयोग गरिरहेका छन् ।
उनी प्रहरी हिरासतमा रहेका सभापति लामिछानेलाई भेट्न पटक-पटक प्रयास गरिरहेका छन् । तर सम्भव भने नभएको रास्वपाकै नेताहरुको दाबी छ । लामिछानेनिकट नेताहरू पनि ढकालले पटकपटक भेट्न खोजेको र पार्टीमा फर्कने वातावरण बनाइदिन आग्रह गरेको स्वीकार्छन् । सभापति लामिछाने र ढकालबीचको संवादहीनता तोड्न केही नेता सक्रिय भएका छन् । अहिले कार्यवाहक सभापतिका रुपमा रहेका डोलप्रसाद (डीपी) अर्यालसँग भने ढकाल संवादमै रहेको स्रोतको दाबी छ । अझ रास्वपाका झापा जिल्लाका केही नेताहरुले कार्यवाहक सभापति अर्यालसँग भेटेर ढकाललाई पुन: पार्टीमै सक्रिय बनाउनुपर्छ भन्ने लबिइङसहित ज्ञापनपत्र नै बुझाएको अवस्था छ ।
अझ रास्वपाका कोसी प्रदेश सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले मुकुललाई फिर्ता ल्याउनुपर्ने भन्दै कार्यवाहक सभापति अर्याललाई पत्रसमेत लेखेका थिए । उक्त पत्रमा रास्वपा आजसम्मकै सबैभन्दा ठुलो संकटको घडीमा रहेको र मुकुललाई पार्टीबाट निष्कासन गरेपछि पार्टी झन् कमजोर भएको भन्दै उनलाई पार्टीमै फिर्ता गर्नुपर्ने पत्रमा उल्लेख छ ।
पत्रकार सम्मेलन गरेर मात्र नपुगी सामाजिक सञ्जालमा समेत सभापति लामिछानेविरुद्ध विषवमन गरेका ढकाल पुन: पार्टीमा कसरी भित्रिएलान् यो हेर्न बाँकी रहेको रास्वपाकै नेताहरुको दाबी छ । ढकालनिकट नेताहरु भने यसलाई सामान्य रुपमा लिनुपर्ने जनाइरहँदा लामिछानेनिकट नेताहरु भने यो सम्भव नरहेको दाबी गर्छन् । पार्टीमा हुँदा सभापति लामिछानेविरुद्ध चर्को बोलिरहेका ढकाल त्यसयता भने मौन छन् ।
अझ लामिछाने सहकारी प्रकरणको अनुसन्धानमा प्रहरी नियन्त्रणमा रहेका बखत ढकाल मौन देखिएका छन् । अदालतले लामिछानेलाई दोषी ठहर गरे ढकाल पुन: पार्टीमा सक्रिय हुने तयारी गरेका छन् ।
पुस ७ गते लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोग लागेका रविसहित सात जनाविरुद्ध परेको मुद्दामा बुधबार सरकारी वकिलको बहस सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो ।
यता नेकपा एमालेले निष्कासन गरेपछि डा. भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा छन् । पार्टी खोल्नुअघि उनले बुधबार (पुस १७ गते) पत्रकार सम्मेलन गर्दै ‘मातृभूमि जागरण अभियान’ घोषणा गरे । उनले देशदौडाहा गरेर पार्टी बनाउने दाबी पत्रकार सम्मेलनमा गरे । रावलले गैरकम्युनिस्ट पार्टी बनाउने पनि घोषणा गरेका छन् । एमालेमा पाँचदशक राजनीति गरेका रावल उपाध्यक्ष बनेका थिए । चितवनमा भएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग रावलले प्रतिस्पर्धा गरेका थिए ।
सर्वसम्मत अध्यक्ष बन्न बाधा पुर्याएको र चुनाव गराउनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै रावलप्रति ओली असन्तुष्ट थिए । पुस १० गते एमालेबाट निकालिएका रावलले एक सातामै नयाँ पार्टी बनाउने घोषणा गरेका हुन् ।
यो पनि…
निरंकुशता र झुटको खेती गर्न खप्पिस भन्दै खनिए केपी ओलीमाथि भीम रावल
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे