सरकारको काम पर्याप्त नभएको नेकपा एमालेले निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकमा एमालेले सरकारको ६ महिनाको कामको समीक्षा गरेको हो ।
‘नेकपा एमालेको निष्कर्ष के हो भने यति मात्रै काम पर्याप्त छैन । सरकारले अझ बढी पुस् गरोस्, सरकारले अझ बढी गति देओस्, दुईवटा दल मिलेर बनेको, अरू पार्टीको समर्थनमा समेत बनेको शक्तिशाली सरकार हो,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
यसबीच सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै स्थिरताको सन्देश दिन सकेको उनको दाबी छ । अर्थतन्त्र अपेक्षित रूपमा प्रगति नभए पनि गएको चौमासिकमा अघिल्लो चौमासिकको तुलनामा १७ प्रतिशत राजस्व वृद्धि भएको ज्ञवालीले बताए ।
यसबीच करिब आठ हजार बचतकर्ताको आंशिक बचत फिर्ता भएको उनले बताए । करिब ६२ हजार बचतकर्ताको उजुरी रहेको र त्यसमध्ये १५-१६ हजारको सम्बोधन भएको उनको दाबी छ ।
‘यसरी बचतकर्ताको बचत फिर्ता, अनियमितता गर्नेलाई कारबाही, उच्चस्तरीय प्राधिकरण गर्ने, भविष्यमा यस्तो नहोस् भनेर नियमन गर्ने कुरा सकारात्मक छन्,’ उनले भने ।
उनले आर्थिक क्षेत्रमा अगाडि बढेको, बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा प्रगति भएको दाबी गरे । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको पनि उनको भनाइ छ । उनले भने, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ । आयोग बन्न ढिलाइ भएको छ । त्यसलाई तीव्रता दिनुपर्छ ।’