बाँके, पुस २० :

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६१- ६२ मा स्थापना भई आव २०६२- ६३ बाट भौतिक निर्माणको काम सुरु भएको थियो । आयोजना सुरु भएको १९ वर्षपछि आव २०८१- ८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको हो । 

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९- ९० सम्म काम सम्पन्न हुनेगरि लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड पुर्‍याइएको छ ।

आव २०६१- ६२ मा सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरु भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ । वि. सं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड पुर्‍याइएको थियो ।

आयोजना सुरु भएदेखि चालु आवको मङ्सिरसम्ममा २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इन्जिनियर अनिल पोखरेलले जानकारी दिए । 

चालु आवका लागि एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म २३ करोड खर्च भएको छ ।

सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ ।

पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।