काठमाण्डौँ , पुस २० :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। 
 
मन्त्री डा राणा शुक्रबार काठमाण्डौँस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनका परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।  

पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो । मन्त्री डा राणाले शोक पुस्तिकामा पूर्वराष्ट्रपति कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र भएको स्मरण गरिन् । 

नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा स्वर्गीय कार्टरले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै मन्त्री डा राणाले स्वर्गीय कार्टर नेपालका एक सच्चा मित्र र शुभचिन्तकका रुपमा नेपालमा सधैँ शान्ति र प्रजातन्त्रका पक्षमा रहेको उल्लेख गरेकी छन्।