काठमाडौँ, पुस २६ :

सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ ।

खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहुँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ । यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागी समस्या देखा परेको छ ।

हिमाली क्षेत्रमा भने यस अवधिमा दुई पटकसम्म हिमपात हुँदा केही राहत भएको छ ।  यसले हिमाली क्षेत्रमा उत्पादन हुने आलुखेतीका लागि फाइदा पुगेको बालीविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले पनि यसपटक पनि औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ । विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको बताए ।

“विभागले यही मङ्सिर १५ देखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेका छ”, उनले भने, “अहिले नै हिउँदमा पानी परेन, हिउँदे खडेरी भयो भन्न चाहिँ मिल्दैन तर आजसम्मको अवस्था हेर्दा निकै कम पानी परेको छ ।” 

प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिउँदमा कम पानी पर्ने बताउँछिन् विभागकी प्रवक्ता विभूति पोखरेल । हिउँदको जनवरी- फेब्रुअरीमा अझ सुक्खा बढ्नसक्ने विभागले आकलन गरेको छ ।  

विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ । 

यसैगरी, विभागले एक महिनाअघि सार्वजनिक गरेको हावापानी आकलन अनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीका अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्नेछ ।

गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेसको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदर भन्दा कम पानी पर्ने विभागको आकलन छ । 

आगामी १६ फागुनसम्मको अवधिमा अर्थात् हिउँदयाममा खडेरी पर्ने सम्भावना देखिएको छ । विभागका अनुसार हिउँदमा ६० दशमलव एक मिलिमिटर वर्षालाई औसत मानिन्छ । 

गत वर्ष पनि सरदरभन्दा कम वर्षा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष हिउँदमा सरदरको १९ दशमलव आठ मिलिमिटर र ०७९ को हिउँदमा १२ दशमलव नौ मिलिमिटर मात्र पानी परेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

उत्पादनमा ह्रास आउने खतरा 
बालीविद् डा डिल्लीराम शर्माले हिउँद सुरु भएयता आकाशेपानी पर्न नसकेकाले पहाड र तराई क्षेत्रमा लगाइएको गहुँ, तोरी तथा अन्य हिउँदे बालीलाई असर गरेको बताउँछन्

“यसपटक विशेषगरी पहाड र तराईमा हिउँदे बालीका लागि मौसम प्रतिकूल रह्यो तर हिमाली क्षेत्रमा भने हिउँ परेकाले मौसम अनुकूल नै छ”, उनले भने, “तसर्थ विशेषगरी यो वर्ष तोरी र गहुँ जस्ता हिउँदे बाली उत्पादनमा कमी आउन सक्छ तर हिमालमा आलु उत्पादन भने बढ्न सक्छ ।”

जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने आकलनपछि कृषि मन्त्रालयले उत्पादनमा ह्रास आउँन सक्ने भनेपनि त्यसअनुसारको पूर्वतयारी भने गर्न नसकेको जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ । 

उनि मन्त्रालयले पूर्वानुमान अनुसारको तयारी नगर्दा व्यवस्थापन गर्न नसकिने गरी सङ्कट आउनसक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेकोमा जोड दिन्छन् ।