काठमाडौं, पुस २६ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले १३० वटा गुनासो सम्बोधन गरेको छ ।

नागरिकबाट प्राप्त ती गुनासा रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डा. अनुप बास्तोलाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्यान्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।

एकाइमा गत पुस ९ गतेसम्म प्राप्त विवरणअनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् ।

सुझावसम्बन्धी आठ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए ।

मन्त्री पौडेलले आमनागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधारसमेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । ‘आमनागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो,’ उनले भने, ‘आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भइरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् ।’ उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए ।