पाल्पा, पुस २७ :

पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । 

लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।

रामपुरऔखोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माण पश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो ।

गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका वेशभूषा सङ्ग्रह गरी राखिएको लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले जानकारी दिए । 

विभिन्न व्यक्तिबाट प्राप्त भएका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएका छन् । विभिन्न जातजातिसँग सम्बन्धित पोसाक रहेका छन् । धर्मशालाको तल्लोतलामा पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोसाक राखिएका छन् ।

कालीगण्डकी बेँसी क्षेत्रको पहिचानको रुपमा रहेको यस धर्मशालाको इतिहासलाई जीवन्त राख्न पुनर्निर्माण गरी सङ्ग्रहालय सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

नगरपालिकाबाट प्राप्त दुई लाखले यसवर्ष बारबन्देजको काम गरिएको छ । वडा नं ४ को वडा कार्यालयबाट विनियोजित एक लाख खर्च गरेर  सङ्ग्रहालयमा बिजुली बत्तीको व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।