कर्णाली, पुस २७ :

राष्ट्रिय खेलकुद परिषद्का सदस्य- सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।

कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८ औँ बैठकका निर्णय अनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।

उनले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका कामको प्रशंसा गरेका छन् । प्रदेश सरकारले गरेको कामको स्थितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने आशङ्का लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । 

उनले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक ६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरि काम गरिने बताए ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजना अनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागिपरेको जानकारी गराए ।

उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी नियुक्तिका विषयमा आवश्यक तयारी भइरहेको पनि जानकारी दिए ।