
बैंकिङ क्षेत्रको कुल निक्षेपमा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी मधेस प्रदेश वार्षिक प्रतिवेदन ०८०/८१ अनुसार कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६६ दशमलव ७२ प्रतिशत देखिएको हो । यस अवधिमा कर्णाली प्रदेशको अंश सबैभन्दा कम एक दशमलव १६ प्रतिशत मात्र रहेको छ ।
प्रतिवेदनअनुसार कुल निक्षेप परिचालनमा मधेस प्रदेशको अंश पाँच दशमलव ३९ प्रतिशत छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५७ दशमलव ८० प्रतिशत छ । सबैभन्दा कम कर्णाली प्रदेशको अंश एक दशमलव १५ प्रतिशत छ । कुल कर्जा प्रवाहमा मधेस प्रदेशको अंश नौ दशमलव २७ प्रतिशत छ ।
कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४ दशमलव ५६ प्रतिशत छ । सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव ५५ प्रतिशत छ । मधेस प्रदेशमा कृषि क्षेत्रमा १८ दशमलव ६६ प्रतिशत प्रवाह भएको देखिन्छ । विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४७ दशमलव २६ प्रतिशत छ । सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ४१ प्रतिशत छ । विपन्न वर्गमा प्रवाहित कर्जा मधेस प्रदेशमा ११ दशमलव शून्य दुई प्रतिशत छ ।
सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३५ दशमलव २२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ५७ प्रतिशत छ । मधेस प्रदेशमा सहुलियतपूर्ण कर्जाको अंश १२ दशमलव ९१ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार तीन सय ५२ रहेको छ । यसमध्ये सबैभन्दा बढी शाखा संख्या बागमती प्रदेशमा तीन हजार ३८ रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा चार सय ७५ वटा रहेको छ । समीक्षा अवधिमा मधेस प्रदेशमा बैंक वित्तीय संस्थाहरूको शाखा संख्या एक हजार सात सय ७९ रहेको छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ६६ लाख १६ हजार चार सय ६५ रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच लाख १९ हजार नौ सय २१ रहेको छ । मधेस प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता १७ लाख ५५ हजार पाँच सय ५६ रहेका छन् ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६ लाख ६८ हजार ६ सय ७२ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५ हजार दुई सय ९१ रहेको छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ता मधेस प्रदेशमा ९० हजार तीन सय तीन रहेको छ । डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ ।
प्रतिवेदन अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी पुनरकर्जाको प्रवाह बागमती प्रदेशमा २६ दशमलव ८६ र सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ४५ प्रतिशत तथा मधेस प्रदेशमा आठ दशमलव ९९ प्रतिशत भएको छ । त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा बढी शाखारहित बैंकिङ सेवा कोसी प्रदेशमा दुई सय ७३ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८ तथा मधेस प्रदेशमा एक सय ३६ रहेको छ ।