
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको हिरासतमा पठाउन आदेश दिएकाे हाे। लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार थुनछेक बहसको अन्तिम आदेश नआएसम्म लामिछाने न्यायिक हिरासतमा रहने छन् । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने छ ।भोलि थुनछेक बहस हुने जनाइएको छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोग लागेका लामिछाने आज विहान अदालत उपस्थित भएका थिए । उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो।
उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए। रविविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल बहसमा भाग लिन पुगेका थिए।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ता भएकाले काठमाडौंको मुद्दा टुंगो लागेपछि उनलाई जहाँ-जहाँ मुद्दा दर्ता भएको छ त्यहाँ-त्यहाँ पुर्याउने जनाइएको छ ।
मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा रहेका उनी ६५ लाख धरौटीमा बिहीबार हिरासतमुक्त भएका थिए ।
तस्बिर : दिलमन्यु सिलवाल/सक्रिय न्युज