काठमाडौं, माघ ४ :

गैरआवासीय नेपालीलाई १० वर्षसम्म नेपाल आउँदा र बस्दा भिसा शुल्क नलाग्ने भएको छ।सरकारले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले यस्तो व्यवस्था गरेको हो । 

ऐन दफा ११ को उपदफा (१) को साविकको व्यवस्था हटाएर प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दस वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने व्यवस्था राखिएको छ।

यस्तै गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एकपटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधा सहितको आवासीय भिसा निःशुल्क उपलब्ध गराइने उल्लेख गरिएको छ।अध्यादेशको सुरुवातमै गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ मा गरिएको संशोधनसम्बन्धी व्यवस्था छ।