बुटवल, माघ ४ :

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित थप १४ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले आज ( बिहीबार) मुद्दा दर्ताको तयारी गरेको छ ।

एक अर्ब १२ करोड बिगो दाबीसहित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्धा दर्ता गर्न लागिएकै हो । रवि लामिछानेलाई चार करोड १३ लाख र छविलाल जोशीलाई चार करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध एक अर्ब १२ करोड बिगो माग गरिएको छ । 

सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा प्रहरीले यसअघि गितेन्द्रबाबु (जीबी) राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार मुद्दा दर्ताका लागि कागज रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता हुनेछ । असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको हो ।

सहकारीको रकम अपचन गरेको मुद्धामा कसुरदार ठहर्दै लामिछानेले पोखरा र काठमाडौं अदालतबाट मोटो रकम धरौटी राखेर हिरासत मुक्ता भएका छन् । लामिछानेविरुद्ध  चितवनको सहारा र सानो पाइला सहकारीमा पनि ठगी गरेको अभियोग छ ।