
इजरायल र हमासबीच युद्धविराम र बन्धक सम्बन्धी सम्झौता आइतबारबाट लागू हुने भनिएको छ । तर आक्रमण भने जारी छ ।
गाजामा इजरायली हवाई आक्रमणमा परी ७१ जनाको मृत्यु भएको हमासको नागरिक सुरक्षा निकायले जनाएको छ । यसैबीच इजरायली हवाई आक्रमणमा परी युद्धग्रस्त क्षेत्रमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा १९ जना भन्दा बढी बालबालिका र २४ जना महिला रहेका छन् ।
इजरायली सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन ।इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासले सम्झौताबाट पछि हटेको र अन्तिम समयमा संकट सिर्जना गरेको आरोप लगाएपछि इजरायली क्याबिनेटले सम्झौतामा मतदान गर्न ढिलाइ गरिरहेको बताएको छ ।
नेतान्याहूको कार्यालयले हमासले थप सहुलियत प्राप्त गर्ने प्रयासमा सम्झौताका केही अंशहरूबाट पछि हटेको आरोप लगाउँदै हमासले पछि नहटेसम्म सम्झौतालाई अनुमोदन गर्न आफ्नो क्याबिनेटको बैठक नबस्ने बताएको छ।
हमासका एक वरिष्ठ अधिकारी इज्जत अल–रश्कले भने,'लडाकू समूह युद्धविराम सम्झौताप्रति प्रतिबद्ध छ,जुन मध्यस्थकर्ताहरूले घोषणा गरेका थिए।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी करिब १२ सय व्यक्तिको ज्यान गएको छ भने २५१ जनालाई बन्धक बनाएको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणका कारण गाजामा इजरायलले ठूलो आक्रमण गरेको थियो जसमा ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका थिए ।
