काठमाडौं, माघ ४ :

ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कपको उपाधि नागार्जुन कलेजले उचालेको  छ । नागार्जुनले उपाधिसँगै कप र नगद पुरस्कार एक लाख पचास हजार रुपैयाँ हात पार्‍यो ।

विजेताहरुलाई त्रिशूली भिल्लाले फ्रि र्‍याफ्टिङ प्याकेज  प्रदान गरेको छ । त्यसैगरी रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रुपैयाँसहित रनर-अप ट्रफी हात पार्‍यो । प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अवार्ड हात पारे ।

नागार्जुन कलेजका खेलाडीद्वय ऋषभ श्रेष्ठले वेस्ट गोलकिपर अवार्ड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अवार्ड जित्न सफल भए । विजेता र उप-विजेता दुवै टोलीलाई मेडलसहित मेरिट सर्टिफिकेटद्वारा समेत सम्मान गरियो ।

डीएभी कलेजकै फुटसल ग्राउन्डमा पुस २९ देखि माघ २ गतेसम्म भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागिता थियो ।

टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पीजंग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिवि मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमिक एड्भाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशूली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी  र बीसीए कलेजका एकेडेमिक हेड शशिभूषण चतुर्वेदी सहभागी थिए ।

उद्घघाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूको पनि उपस्थिति थियो । बीसीए कलेजहरूबीच प्रथमपटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संस्करण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ । प्रतियोगिता वीज्जीडीएभी इभेन्ट क्लबको आयोजना र डीएभी कलेजको समर्थनमा सञ्चालन गरिएको हो ।