भक्तपुर, माघ ५ :

दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ भक्तपुरको चाँगुनारायणमा श्रीमद्भागवत धनधाञ्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ नगरपालिकाको वडा नम्बर ८ मिश्रीकोटारमा माघ ५ गतदेखि माघ १३ गतेसम्म आयोजना हुनेछ ।

२०० वर्ष पुरानो शक्तिरुपिणी बालकुमारी मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको ऐतिहासिक श्रीमद् भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ तथा शृंगार महाआरी मूल समारोहसमिति अध्यक्ष तीर्थराज घोरसाइनेले जानकारी दिए ।

करिब २०० वर्षअघि हाल बालकुमारी मन्दिर रहेको स्थानमा रहेको लप्सीको रुख एक्कासि सुक्न पुगेको थियो । पुर्खाहरुले लप्सीको रुख सुक्नुको कारण बुझ्न तान्त्रिक गुरुको सहयोग लिएका थिए । बालकुमारीमा माताको बासस्थानमा लप्सीको बोट उम्रिएकाले सुकेको तान्त्रिक गुरुले जानकारी गराएपछि राजमान रञ्जितकारका जिवाले मन्दिर स्थापना गरेको किम्वदन्ती रहेको अध्यक्ष घोरसाइनेले बताए ।

‘बालकुमारी माताको मन्दिर सुडालको पवित्र तथा धार्मिक तीर्थस्थलका रुपमा रहेको छ । माताको दर्शनले दशनार्थीको मनोकामना पूरा हुने जनविश्वास छ,’ उनले भने । हालको सानो मन्दिरलाई भव्य र व्यवस्थित बनाउन महायज्ञ गर्न लागिएको हो ।

नयाँ मन्दिर स्थापनासँगै यस क्षेत्रमा धार्मिक गतिविधि बढ्नुका साथै पर्यटकीय गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरेका छन् ।

महायज्ञमा संगीतमय कथावाचन, भजनकिर्तन, देवलीला, झाँकी, तुलादान, धान्यञ्चल, तण्डुलाचल एवं शान्ति कलश पूजनलगायत कार्यक्रम छन् । साथै समापनका दिन सामूहिक व्रतबन्धको कार्यक्रम पनि रहेको अध्यक्ष घोरसाइनेले जानकारी गराए ।

चाँगुनारायण नगरपालिकाको समेत समन्वयमा हुने महायज्ञले नगरकोट भ्रमण वर्ष-२०८२ को प्रचारमा समेत सहयोग पुग्ने उनले बताए ।

महायज्ञ सफल बनाउन गठित समितिको उपाध्यक्ष केशवप्रसाद तिमल्सिना, सचिव साधुराम घोरसाइने, कोषाध्यक्ष सुशीला घिमिरे र सहसचिवमा नवीन कार्की छन् ।

यस्तै सदस्यमा लक्ष्मण थापा, रामबहादुर थापा, राजकुमार कार्की, अर्जुन कार्की, भरत कार्की, कल्पना विष्ट, सुमित्रा दाहाल, सुमित्रा घोरसाइने, महेन्द्रप्रसाद घोरसाइने, माधवप्रसाद घोरसाइने, गंगाप्रसाद अधिकारी, गंगाप्रसाद घोरसाइने, वासुदेव घोरसाइने, रामशरण घोरसाइने, मनोज बुढाथोकी, ध्रुव कार्की, रामकुमार कार्की, कृष्ण बानियाँ, सन्जीव बानियाँ, चिरन कार्की, रोशन तिमल्सिना, लोकनाथ दुलाल, रघुराम दुलाल, सन्तराम दुलाल, गोकर्ण फुयाल, जीवन दाहाल, राजु साखकर्मी, कृष् पियारी थापा कार्की, रञ्जित रञ्जितकार, बुद्ध रञ्जितकार, सन्तकुमार रञ्जितकार, हीराकाजी रञ्जितकार, सुकुराम रञ्जितकार, शैलेन्द्रकुमार श्रेष्ठ, राजेश नेपाल, हरेराम दुलाल, श्यामप्रसाद घोरसाइने छन् ।