म्याग्दी, माघ ७ :

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका- ७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । 

नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।

रघुगङ्गा गाउँपालिका- ७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम) का अनुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । 

एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएको उनले बताए । आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । 

यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।