
खानेपानी मन्त्री प्रदीप यादवले पानीको समस्या लिएर सिंहदरबार छिरेका धरानका मेयर हर्क साम्पाङलाई समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।
अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यसै वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गरेको मेयर साम्पाङले बताए ।सरकारले खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अघि सारेको मन्त्री यादवको भनाइ छ ।
मेयर साम्पाङले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री यादवको ध्यानाकर्षण गराए । दुवै मन्त्रीसँगको भेटपछि साम्पाङले खानेपानी आयोजनाका लागि बजेट पाउने आश्वासन पाएको बताए ।
भेटपछि पत्रकारसँगको कुराकानीमा साम्पाङले सरकारले आफ्नो माग पूरा गर्ने आश्वासन दिएको बताएका छन् ।सरकारबाट बजेट पाउने आश्वासन पाएका मेयर साम्पाङले भने, ‘अब विस्तारै डीपीआरलगायतका प्रक्रिया अगाडि बढ्नेछ ।’
धरानमा अहिले खानेपानी मुख्य समस्याको रुपमा रहेको छ । साम्पाङ पनि पानीकै समस्या समाधान गर्ने आश्वासन दिएर मेयर पदमा विजयी भएका हुन् । उनलाई अहिले आफ्नो प्रतिबद्धता पुरा गर्न बजेट लगायत विभिन्न कारणले समस्या भएको जनाइएको छ ।
धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोसीको पानी ल्याउनु पर्ने र त्यसका लागि बजेट छुट्याउनैपर्ने उनको अडान छ।