काठमाडौं, माघ १० :

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् ।

सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले त्यसबारेमा बताएका हुन् ।सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको भन्दै सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी समेत बताए बताए ।

आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको दिइँदै आएको उल्लेख गर्दै उनले भने,‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ।’

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए। सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले प्राथमिकतामा राखेर कार्य सञ्चालन गरिरहेको बताए।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानले जागिर नभई सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताए। नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको बताए।  हालसम्म नेपालले मर्मत गर्नुपर्ने दुई हजार ३०८ वटा सीमा स्तम्भको मर्मत सम्पन्न गरिसकेको बताए।