नेपालगञ्ज, माघ ११ :

केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । 

जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । 

चराका त्यस्ता प्रजातिमा चखेवा लगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए । “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,” उनले भने । त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उनको भनाइ छ ।

खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् । 

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ जोशीसहितको टोलीले गरेको सर्वेक्षणमा ती चरा भेटिएको जानकारी दिए ।बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ ।