
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा उनले विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेकाले विकासलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका हुन् ।
उनले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गरे ।
राष्ट्रपति पौडेलले गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भए नभएको बारेमा चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्ने र बजेटको सही सदुपयोग हुने बताए ।
उनले आफ्नो भूमिकालाई आफै क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवम् उपप्रमुखलाई आग्रह गरे।
राष्ट्रपति पौडेलले महासङ्घको ३०औँ स्थापना दिवसको सफलताको शुभकामना समेत दिए ।