काठमाडौँ, माघ १३ :

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

शनिबार बिहान मधेश प्रदेशको पूर्वी भू- भाग तथा कोशी प्रदेशका भू- भागमा सामान्य शीतलहर चलेको छ भने बाँकी तराईका धेरैजसो स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

पहाडी र हिमाली भू- भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने  छ।

आगामी २४ घन्टा मधेश प्रदेशको पूर्वी भू- भागमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी स्थानहरूमा पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना कायम रहेकाले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।