बुटवल, माघ १४ :

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको तर्फबाट बहस जारी छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिसकेका छन् ।

अनुसन्धानको कार्यविधिमाथि प्रश्न उठाउँदै श्रेष्ठले कुनै नयाँ प्रमाण फेला नपरे पनि जबरजस्ती पुरक अभियोगपत्र तयार पारेको बताए । दाबी गरिएका कतिपय आरोपहरू पुष्टि हुने प्रमाणहरू मुद्दाको साथमा पेश नभएको उनको जिकिर छ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा गत बुधबारबाट बहस भइरहेको छ। थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् ।

त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् ।

बहस सकिए सम्भवतः आज नै फैसला आउने छ ।सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको छ।