काठमाडौं, माघ १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने भएको छ । 

पार्टी केन्द्रिय कार्यालयमा सोमबार बसेको पदाधिकारी बैठकले केन्द्रीय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको कार्यवाहक महमन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

जसअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल कर्णाली प्रदेश लिमा अधिकारी, लुम्बिनी प्रदेश, विपिनकुमार आचार्य, गण्डकी प्रदेश शिशिर खनाल, वागमती प्रदेश सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेश सुमना श्रेष्ठ र रमेश प्रसाईं रहेका छन् ।

 रास्वपाले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आवद्ध गर्न/गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन पनि निर्देशन दिएको छ ।

बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली, २०८१ को संशोधन प्रश्ताव, संगठन विभाग नियमावली, २०८१ र निर्वाचन आयोगको नियमावली, २०८१ पारित गरेको छ ।

बैठकले केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रिय संगठन विभाग सदस्यमा मनोनयन गरेको छ । प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि  कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिएको बुर्लाकोटीले जानकारी दिए ।