
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी-पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।
इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवं अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार पाँच सय रुपैयाँ (२५ हजार अमेरिकन डलर) सहयोग गरेको हो ।
पीडितहरुको आवश्यकता पुरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरु निर्माण गरीरहेको हो । नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवास निर्माण भइरहेका छन् ।
यी आवासहरु जाडो-गर्मी बाह्रैमास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरु टिकाउ र दिगो रहेका छन् । हरेक घरमा २ वटा बेड रुम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ ।
चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरुमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियसभन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ ।
घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरुलाई कम्बलहरु पनि प्रदान गरेको छ । इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, ‘हामी समुदायका मानिसहरुलाई सहयोग गर्ने र आवश्यकताअनुसार दिगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौं । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौँ ।’
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३०को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छ । दीगो समाधान र अर्थपूर्ण कामहरु मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौँ । यस सहकार्यले हाम्रो विश्वासलाई मूर्त रुप दिएको छ प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौँ जहाँ उनीहरुले आफ्नो जीवन नयाँ तरिकाले शुरुवात गर्न सक्नेछन् ।’