काठमाडौं, माघ १६ :

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा १७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।

एकेडेमीमा आश्रित विद्यार्थीहरुको समुन्नतिका लागि दुई लाख ४५ हजार सहयोग हस्तान्तरण गरेको हो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुक्त रुपमा सहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा सञ्चालक अर्जुन थापाले सहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बालबालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै एकेडेमीले खेलकुदको उन्नतिको लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा प्रशंसासमेत गरे ।

बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु रानामगर, सह-कोषाध्यक्ष अशोक लालचनलगायतको उपस्थिति थियो ।

देशका सातै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकका ८९ शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्स्टेन्सन काउन्टर) छन् ।