काठमाडौँ, माघ १७ :

विभिन्न हिमाल आरोहणका लागि सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढेको छ। 

पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै आरोहण अनुमति शुल्क वृद्धि गरेको पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीले बताए। 

सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालको आरोहण अनुमति शुल्क बढाउने निर्णय गरेको छ। यसअघि सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएकोमा आगामी भदौदेखि भने १५ हजार डलर लाग्ने भएको छ।

उचाइ अनुसार अन्य हिमालतर्फको आरोहण शुल्क पनि बढेकाले मन्त्रिपरिषद्ले स्वीकृत गरेको संशोधित नियमावली आगामी भदौ ३१ देखि लागु हुने उनले जानकारी दिए। 

अब विदेशी नागरिकले सगरमाथा चढ्न करिब २० लाख ६९ हजार रुपियाँ तिर्नुपर्ने छ। यसअघि विदेशी आरोहीले सगरमाथा चढ्न करिब १५ लाख तिर्दै आएका थिए । 

नेपाली नागरिकले भने सगरमाथा आरोहणका लागि डेढ लाख रुपियाँ राजस्व तिर्नुपर्ने छ । यसअघि नेपाली नागरिकले ७५ हजार रुपियाँ शुल्क तिर्दै आएका थिए । 

विभागका अनुसार सगरमाथा आरोहणका लागि अप्रिल- मे महिना सबैभन्दा उत्तम समय मानिन्छ। सेप्टेम्बर- नोभेम्बरको याममा सात हजार पाँच सय अमेरिकी डलर र डिसेम्बर- फेब्रुअरी महिनाका लागि तीन हजार ७५० अमेरिकी डलर शुल्क लाग्ने विभागले जनाएको छ ।