काठमाडौं, माघ १७ :

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।

विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमुना लिएर बुधबार विषादी परीक्षण गरिएको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ ।

विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमुनाको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको जनाए । उनले उक्त परीक्षणको नतिजा ठीक रहेको जनाउँदै परीक्षण गरिएका सबै तरकारी खान मिल्ने बताए ।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर,विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमुना संकलन र परीक्षणका लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षणका लागि आएका छौं,’ उनले भने, ‘गत साता कालीमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमुना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरेका थियौं । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पायौं ।’

न्यूनतम २ प्रतिशतदेखि अधिकतम २७ प्रतिशतसम्म ‘इन्जाइम इन्हिभिसन’ पाइएको उनको भनाइ छ । उनले इन्जाइम इन्हिभिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खानयोग्य मानिन्छ । उनले ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिभिसन भएकालाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको जानकारी दिए ।

सुवेदीले बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, धनुषालगायत जिल्लाबाट आएका तरकारीको नमुना संकलन गरेर परीक्षण गरेको पनि बताए ।

‘बल्खुमा आज अनुगमन गर्‍यौं । बल्खुमा कालीमाटीबाट तरकारी आउने रहेछ । कालीमाटीबाट आएका तरकारीको बल्खुबाट नमुना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाबाट आएका तरकारीको नमुना संकलन गरेर परीक्षण गरेका छौं । नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्योभन्दा बढी भयो भने फाल्नुपर्छ,’ उनल भने, ‘आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमुनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौं । यो रायोको सागमा भेटिएको छ । यो ठीक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सरजस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्न तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ । तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खानयोग्य हुन्छ ।’

उनले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको पनि जानकारी दिए ।