
तामाङ समुदायले आज विभिन्न कार्यक्रम गरि सोनाम ल्होसार पर्व मनाउँदैछन् ।
यो पर्व नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने भएपनि तामाङ समुदायले तीन दिन अघिबाट नै विभिन्न कार्यक्रम गरि मनाउँदै आएका छन् ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ- आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने चलन रहेको छ ।