
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गरेका छन् ।
“यसले हामीलाई हाम्रो मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँछ । यस अवसरमा आयोजना गरिने मौलिक एवं सांस्कृतिक नाचगान र सङ्गीतले नेपाली संस्कृतिको जगेर्ना गर्नमा सघाउँछ । ल्होसारमा पकाइने विशेष तथा परम्परागत मीठो परिकारहरूले हाम्रो रैथाने रीतिरिवाजलाई जीवन्त बनाउँदै पुस्तान्तरण गर्नमा उत्तिकै सहयोग पुगेको मेरो विश्वास छ”, उपराष्ट्रपति यादवले भनेका छन् ।
उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुसी र उल्लास साटासाट गर्न सोनामल्होसारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।