काठमाडौं, माघ १८ :

काठमाडौंमा आज (बिहीबार) देखि सुरु भएको महिला टी-२० आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल नेदरल्यान्डस्‌सँग २० रनले पराजित भएको हो । 

नेदरल्यान्डस्‌ले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डस्‌ले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सीताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पूजा महतोले २४ रन बनाइन् ।

सिरिजमा नेपाल र नेदरल्यान्डस्‌का साथै थाइल्यान्डको सहभागिता छ । नेदरल्यान्ड्स्‌ले दोस्रो खेल शुक्रबार थाइल्यान्डसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा शनिबार थाइल्यान्डसँग  खेल्नेछ । सिरिजमा सहभागी टोलीले एक-अर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।


 

तस्बिर : दिलमन्यु सिल्वाल/सक्रिय न्युज