काठमाडौं, माघ १८ :

जुट्दै र फुट्दै आएका मधेसकेन्द्रित दलहरू अन्तत मोर्चा बनाउन सहमत भएका छन् । सिंहदरबारमा बिहीबार बसेको आठ मधेशकेन्द्रित दलको बैठकले संयुक्त कार्यदल बनाई मोर्चा बनाउने प्रक्रियालाई अगाडि बढाएको हो । 

कार्यगत र पार्टी एकतासम्मका लागि छलफल गर्न कार्यदल गठन गरेका हुन्। कार्यदलले विशेष गरी साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने छ । कार्यदलले भोलिदेखि नै काम सुरू गर्ने बैठकपछि मनिषकुमार सुमनले जानकारी दिए।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मण लालकर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य रहेका छन् । ८ दलबाट १/१ जना रहेका हुन् ।

सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर मोर्चा प्रस्तुत हुने छ ।  संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुन्छन् त्यसलाई हेरेर अगाडि बढ्ने जनमतका प्रवक्ता शरदसिंह यादवले बताए । 

सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको ठहर गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित गर्न नहुनेमा मधेसकेन्द्रित दलको जोड छ ।