प्रजातान्त्रिक आन्दोलनका योद्धा झापास्थित हल्दिबारी–५ निवासी अमृतबहादुर आङ्देम्बेको ९९ वर्षको उमेरमा आज निधन भएको छ ।
विसं १९८२ मा पाँचथरको नवमीडाँडा–८ मा जन्मनुभएका आङदेम्बेको आज निधन भएको हो । उहाँ लामो समयदेखि हल्दिबारी–५ (साविक जलथल–९) मा बसोबास गर्दै आउनुभएको थियो ।
नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्तिसेनाका रूपमा सक्रिय आङ्देम्बे ‘चार सरकार’का उपनामले चिनिनुहुन्थ्यो ।
उहाँले बिपी कोइराला,अग्रज प्रजातान्त्रिक योद्धाहरू भूविक्रम नेम्बाङ,देवान दोर्जे,प्रेमराज आङ्देम्बे,मच्छिन्द्रबहादुर केरूङ लगायत नेताहरूको निकटतम रहेर काम गर्नुभएको थियो । उहाँका छोराहरू नरविर,हस्तबहादुर,हर्कबहादुर,विष्णुबहादुर र छोरीहरू टीका र श्रीमाया आङदेम्बे छन् ।
हल्दिबारी–५ का वडाध्यक्ष खड्गबहादुर लावतीका अनुसार शनिबार बिहान ११ बजे निजी निवासबाट शवयात्रा प्रारम्भ भई चारकोशे झाडीस्थित चिहानडाँडामा अन्त्येष्टि गरिनेछ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रजातन्त्र सेनानी स्व आङदेम्बेको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाउँदै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।