अछाम, माघ २० :

अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत सो तथ्य सार्वजनिक गरेको हो ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरी को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) ईश्वरीप्रसाद भण्डारीले दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको बताएका छन्।

मृतक इशरा खड्का र पक्राउ परेका किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो। उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्‍याइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन।

प्रहरीका अनुसार ती किशोरले फुपुको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजना बनाउँछन्। उनीहरूबीच टेलिफोन संवाद हुन्छ। गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने तय हुन्छ।

दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरू छिन्ने जंगलमा पुग्छन्। इशरा र राजेश छेउ लागेर आपसमा प्रेमका कुरा गर्छन्। त्यही बेला फुपु सरस्वतीसँग दिपेशको कुराकानी चल्छ। कुराकानीका क्रममा दिपेशले प्रेम प्रस्ताव राख्दै इशारा र राजेश जस्तै पछि विवाह गर्ने शर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन्। तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन्।

प्रहरीलाई स्वयं दिपेशले दिएको बयानअनुसार सरस्वतीसँग यौन सम्पर्क गर्ने उत्सुकता उनमा पलाएको थियो। प्रेम प्रस्ताव अस्वीर गरेपछि उनी यौन सम्पर्कका लागि जोडबल गर्न थाल्छन्। दिपेशले जबरजस्ती गर्न खोजेपछि उनी प्रतिवाद गर्छिन्।

आवेशमा आइसकेका दिपेशले नजिकै भएको ढुंगाले उनको मुखमा प्रहार गर्छन्। सरस्वती भुँइमा लडेपछि पुनःप्रहार गर्दै उनको निर्मम हत्या गर्छन्।

प्रहरीकाअनुसार ढुंगा खसेको आवाज आएपछि इशरा र राजेश घटनास्थलमा आइपुग्छन्। त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन्। दिपेशले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको दाबी गर्छन्। तर इशराले भने फुपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताउँछिन्।

घटना बाहिर आउने डरले दिपेश र राजेशले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन्। इशरासँग निकै आक्रोशित भइसकेका उनका प्रेमी राजेश बुढाले नै ढुंगा प्रहार गर्छन्। ढुंगा प्रहार गरेरै सरस्वतीको जस्तै इशाराको पनि हत्या गर्छन्। इशराको हत्या भने दुवै किशोरको योजनाअनुसार भएको देखिएको प्रहरीले जनाएको छ।