
सेयर बजारमा उच्छल आएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक ६९ दशमलव ८० अंकले बढेर २७ सय २७ दशमलव ५८ अंकमा पुगेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६४ अंकले बढेर चार सय ५८ दशमलव ३७ अंकमा चढेको छ । नेप्सेमा आज ३३० कम्पनीको एक लाख ३० हजार नौ सय १३ पटकको कारोबारमा दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर खरिद-बिक्री भए । जसको कुल कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार एक सय ३६ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहहरुको सेयर कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक ३३ दशमलव ७५ अंकले बढेर १३ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचकमा पनि एक सय ८४ दशमलव ७५ अंकले बढेर ६ हजार ४९ दशमलव २७ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक पनि ३३ दशमलव ३९ अंकले बढेर २६ सय आठ दशमलव १५ अंकमा चढेको जलविद्युत् समूहको सूचक पनि ५३ दशमलव ६७ अंकले बढेर तीन हजार आठ सय ४९ दशमलव २३ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक तीन सय १२ दशमलव ६५ अंकले बढेर १३ हजार एक सय ७२ दशमलव ४४ अंकमा पुगेकामा निर्जीवन बिमा समूहको सूचक पनि चार सय ७० दशमलव ४३ अंकले बढेर १३ हजार एक सय २२ दशमलव ८४ अंकमा पुगेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक सय २४ दशमलव १५, तीन दशमलव ५२, दुई सय १८ दशमलव शून्य एक, दुई सय ४४ दशमलव ५०, शून्य दशमलव शून्य तीन, ५५ दशमलव शून्य चार र ५७ दशमलव ३७ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।