चितवन, माघ २२ :

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी गरेको अभियोगमाा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध मंगलबारमात्र मुद्दा दर्ता हुने भएको छ ।

चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी भएको भए पनि केही वकिलहरुको कार्यव्यस्तताका कारण मंगलबारमात्र मुद्दा दर्ता हुने स्रोतले जनाएको छ ।

प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले  उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

 प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

लामिछाने सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र सुप्रिम सहकारी प्रकरणमा  १ करोड रुपैयाँ धरौटी तिरेर छुटिसकेका छन् ।विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ । 

एकपछि अर्को अदालतमा धरौटी वापत माेटो रकम बुझाउन परेपछि लामिछानेले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्दै जिल्ला अदालत कास्कीविरुद्ध उच्च अदालत पोखरामा निवेदन समेत दिइसकेका छन् ।त्यस निवेदनमा जिल्लाको फाइल झिकाउन आदेश भइसकेको छ ।