
ताप्लेजुङका केबलकारविरोधी समूहले काठमाडौंको माइतीघरमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
ताप्लेजुङको पाथीभरा क्षेत्र संरक्षणको माग गर्दै संघर्ष समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले उक्त क्षेत्रमा केबलकार निर्माण गर्ने कार्य तत्काल खारेज गर्न माग गरेका छन्।
गृहमन्त्री रमेश लेखकको समेत राजीनामा माग गर्दै उनीहरुले आदिवासीको भूमि फिर्ता गर्नुपर्ने, गिरफ्तार गरिएकाहरुलाई बिनाशर्त रिहा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विरोध प्रदर्शनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि सहभागी थिए।
केही दिनदेखि पूर्वमा आन्दोलन र बन्द आह्वान गर्दै आएका केबलकार विरोधी समूहले केन्द्रलाई नै दवाब दिन काठमाडौं आएका हुन् । सरकारले सहसचिवको नेतृत्वमा वार्ता टोली बनाए पनि उनीहरुले कर्मचारीसँगको वार्तामा नबस्ने प्रष्ट पारेका छन् । उनीहरुको यो धारणाप्रति सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।