भक्तपुर, माघ २३ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताएका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा आज भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
    
“कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको छ,” मन्त्री पौडेलले भने, “औषधि छैन भन्ने फार्मेसी किन राख्ने, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाइँदैन, त्यो गैरकानुनी हन्छ । कारबाहीको भागिदार हुन्छ ।”
    
सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौंसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने बताउँदै उनले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने बताए । उनले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अब अन्त्य हुनुपर्ने बताए ।

मन्त्री पौडेलले नागरिक योदानमा आधारित बिमा प्रणाली लागू गरी स्वास्थ्य बिमालाई एक लाखबाट बढाएर पाँच लाख बनाउने तयारी गरेको जानकारी दिए । स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बताउँदै उनले यसलाई पारित गरेर बिमालाई अनिवार्य र व्यवस्थित गरिने बताए ।

मन्त्री पौडेलले क्यान्सर सरभाइभर बिरामीलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्‌सेवकको रूपमा सेवा गर्नुभएका शङ्कर प्रधानाङग र दीपक ओलीलाई सम्मान गरे। 

देशका १७ लाख किशोरीलाई एचपिभी खोप लगाउने अभियान आजदेखि सुरू भएको बताउँदै उनले आठ हजार २०० खोप केन्द्रमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूले एचपिभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताए । 

नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको बर्सेनि क्यान्सर रोगका कारण मृत्यु हुने तथ्याङ्क रहेको भन्दै उनले यस्तो अवस्थालाई नियन्त्रण गर्न रोगै लाग्न नदिने गरी जनचेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिए ।