बागमती, माघ २४ :

बागमती प्रदेशसभाको बैठक आज (बुधबार) बस्दै छ । 

सभामुख भुवनकुमार पाठकको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएसँगै आज बैठक बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सरकारले विधेयकहरू पेस गर्ने कार्यसूची रहेकाे छ ।

आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा  ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदैछ ।

यस्तै, बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

यही माघ १८ गतेदेखि प्रारम्भ भएको प्रदेशसभा बैठकको पहिलो दिन नै ती विधेयक सदनमा पेस गर्ने योजना रहेकामा विपक्षी दलको सहमति नहुँदा तिनलाई प्रदेशसभा कार्यसूचीबाट हटाइएको थियो ।