काठमाडौं, माघ २२ :

काठमाडौंको भीमसेनगोला बानेश्वरमा रहेको मोडर्न कन्या मल्टिपल कलेजले विद्याकी देवी सरस्वतीको विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्राध्यापक मुकुन्दराज दाहालबाट सरस्वती वन्दना गरेर आरम्भ गरिएको कार्यक्रममा शिक्षाविद् तथा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहालले सरस्वतीको महत्त्व, अनादीकालदेखि रहँदै आएको, सरस्वतीको भारत वर्षभरी नै विशेष रहेको, आज विशेष दिनका रूपमा शिक्षाको मन्दिरमा चर्चा भइरहेको उल्लेख गरे ।

उनले आजको दिन अँध्यारो चिरेर उज्यालो छर्ने सेतो र उज्यालोको प्रतीकका रूपमा सरस्वतीलाई लिन सकिने धारणा राखे । सरस्वती विनयीभावको, वीणा पुस्तकधारण गरेकी सरस्वतीको ज्ञान पक्षलाई जति चर्चा गरे पनि कमै हुने बताए ।

कार्यक्रममा संस्कृतिविद् शर्मिला कोइराला, उपप्राध्यापकहरु भरत सापकोटा, कोपिला कोइराला, दीपेन्द्र कार्कीलगायतले सरस्वतीले दिने ज्ञान र विवेक नगुमाउन विद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।

प्रिन्सिपल सविन पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा छात्राहरू रेनुका कँडेल, कल्पना कटुवाल, गंगा केसी, प्रकृति दाहाल, शर्मिला कार्की, स्वेच्छा दाहाल, जमुना बस्नेत, गंगा बस्नेत, इशा गोतामे, रीतु मगर, सानु भुजेल, पूजा लामिछाने, एलिसा राईलगायतले विद्यार्थीहरुले सिक्ने चाहना राख्ने र पढ्नेहरु सबैको प्रेरणाको स्रोत सरस्वती माता भएको बताएका थिए ।