काठमाडौं, माघ २४ :

प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रस्तावउपर छलफल गरेर टुंग्याइने भएको छ ।  सिंहदरबारमा बुधवार सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रस्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा परेको कसरी समय व्यवस्थापन गरेर टुंग्याउने भन्नेबारेमा छलफल गरिएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनकाअनुसार बिहीबारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र अध्यादेश बिहीवारकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको छ ।उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्ने कार्यतालिका निर्धारण गरिएको बताए । 

 बिहीबारकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी रहेको पनि बताए ।

सभामुख घिमिरेसँगको बैठकमा संसदको क्यालेण्डरबारे छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम तय भएको र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । 

उनले अध्यादेशको विपक्षमा परेको प्रस्तावमा संसदमा एकजनाले प्रस्तावको रुपमा लैजाने र प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावउपर समर्थकहरुले बोलेर विषय टुंग्याइने बताए । अध्यादेशको प्रस्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रस्तावकले फिर्ता लिनसक्ने गरी कार्यतालिका बनाइएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको अध्यादेशमाथि अस्वीकारको प्रश्तावउपर छलफल गरेर कसरी टुंगो लगाउने भन्नेबारेमा छलफल भएको बताए। उनले प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर आफ्ना कुराहरु राख्ने र त्यसलाई निर्णयार्थ प्रश्तुत गर्ने सहमति बनेको बताए। 

भोलि प्रमुख प्रतिपक्ष दलको नेताले बोल्ने भन्ने कुरा छ । शुन्य समय, विशेष समय पनि केही गर्ने र प्रमुख प्रतिपक्ष दलको नेताले बोलिसकेपछि अध्यादेशमाथि परेका ५१ जनाले विभिन्न ६ वटा अध्यादेशमा अस्वीकार गरियोस् भन्ने प्रश्तावमा छलफल हुन्छ र भोलि नै निर्णयार्थ प्रश्तुत हुन्छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल हुने कार्यतालिका रहेको बताए।