काठमाडौं, माघ २४ :

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुका तर्फबाट एकजनाले सामूहिक रुपमा प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ ।

अस्वीकार गर्ने सांसदहरुका तर्फबाट एकजना प्रस्तावक बनेर अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए ।

सभामुखसँगको छलफलपछि बुधबार सञ्चारकर्मीहरुसँग उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन/तीन मिनेटको समय छुट्याइएको पनि जानकारी दिए ।

‘भोलिको संसद्‌ बैठकमा पेस गर्ने कार्यसूचीका बारेमा छलफल भयो । सर्वसम्मतिले ती विषयहरु तय भएको छ । अध्यादेश प्रस्तुत गर्ने कुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरुको सामूहिक रुपमा परेको प्रस्तावमा एकजनाले प्रस्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र ३/३ मिनेट मान्यज्यूहरुले राख्ने, भोटिङ सामूहिक रुपमा जुनजुन प्रस्तुतकर्ता सांसदज्यूहरु हुनुहुन्छ, सामूहिक भोटिङ हुन्छ,’ उनले भने ।

संसद्‌को बैठकमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि उनले जनाए । उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए ।