
वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी- घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेको छ ।
सडक विभागले उक्त प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो । मङ्गलबार वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाएको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए ।
सोमबारको मन्त्रिस्तरीय निर्णयबाट प्रतिवेदन स्वीकृत गरी मन्त्रालयका वातावरण प्रभाव अध्ययन शाखाका वन अधिकृत लोकनाथ घिमिरेले सडक विभाग र वातावरण विभागलाई प्रतिवेदन स्वीकृत भएको पत्र पठाएको संसद् रायमाझीले बताए ।
प्रतिवेदनअनुसार निर्माण सुरु गरेको ३० महिनामा काम सम्पन्न गर्ने योजनासहित आयोजनाको कूल लागत नौ अर्ब ४७ करोड अनुमान गरिएको छ ।
उक्त सडक स्तरोन्नति भएमा सिरहाको मिर्चैया नगरपालिका र उदयपुरको कटारी नगरपालिकावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ लगायतलाई मधेससँग प्रत्यक्ष आवतजावत गर्न सहज हुनेछ ।
उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारले एक अर्ब पाँच करोड विनियोजन गरेको छ ।