
काठमाडौँमा बुधबारदेखि सुरु नेपाल- भारत रङ्ग महोत्सवअन्तर्गत आज (बिहीबार) नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ प्रदर्शन हुने भएको छ ।
यसैगरी, माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’, माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ ।
माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।
यहाँ प्रदर्शन हुने नेपाली नाटकहरुमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुने छन भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ ।
राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव समारोहमा मन्त्री पाण्डेले मन्त्रालयले कलासंस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनाका साथै आपसी अनुभव आदानप्रदान हुने बताउए ।
प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कलासंस्कृति आदानप्रदान हुने बताइन् ।
महोत्सवको उद्घाटनपछि सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही माघ ३० गतेसम्म चल्ने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने प्रतिष्ठानकी कुलपति शर्माले जानकारी दिइन् ।
जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये तीनवटा नेपालका र तीनवटा भारतका प्रदर्शन हुने छन् । कुलपति शर्माका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा माघ १५ गते नै यस्तै महोत्सव सुरु भइसकेको र भारतका ११ सहरमा महोत्सव जारी छ ।
भारत र नेपालको सहकार्यमा सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव नेपालमा पहिलो पटक भएको हो ।