
प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बस्दै छ ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा एक बजे बस्ने छ ।
आजको प्रतिनिधि सभा बैठकमा संसद् नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तयारी छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।
अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत भएपछि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत गरियोस भनी प्रस्ताव गर्नेछन् । त्यसपछि सम्बन्धित मन्त्रीले अध्यादेश पालैपालो पारितका लागि पालैपालो प्रस्ताव गर्नेछन् ।