ललितपुर, माघ २५ :

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने बताएका छन् ।

खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ को जानकारी दिन आज आयोजित पूर्वतयारी कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गरे ।

उनले बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

साथै उनले बाँस सम्मेलनको सफलता, र उपयोग बढाउन, व्यावसायिक अभिवृद्धि, निर्यात प्रवर्द्धन लगायत क्षेत्रमा राष्ट्र बैंक र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

पूर्वमन्त्री गणेश शाहले खोटाङको दिक्तेलमा हुने सम्मेलनले बाँसमा आधारित उद्योग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बाँसलाई ‘हिमालयन बाम्बो ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

“नेपालमा २३ जातिका ८१ प्रजातिका बाँस पाइन्छन्, संसारमा पाइने बाँसमध्ये नेपालमा १९ प्रतिशत पाइन्छन्, तराईदेखि पहाड र हिमालमा पनि पाइने बाँसलाई गरिबको साथी मात्रै नभई धनीहरूको सौख पूरा गर्ने वस्तुका रूपमा प्रचारप्रसार गरी यसको प्रवर्द्धनमा जोड दिनुपर्छ”, डा केसीले भने। 

ग्रीन बम्बो क्रियशन प्रालिका प्रतिनिधि प्रदीप दङ्गालले बाँस छिटो हुर्कने वनस्पति भएकाले बाँसलाई केन्द्रमा राखी आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे । 

सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाको प्रदर्शनी गर्नेलगायत रहेको दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

बाँसखेती गर्ने किसानको प्रवर्द्धन र प्रोत्साहनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको उनले बताए । 

नगरप्रमुख भट्टराईका अनुसार सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्नेछन् ।

सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी सङ्घसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ ।