काठमाडौं, माघ २५ :

नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार आकस्मिक समयमा बोल्दै उनले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गरिन् । उनले सत्येन्द्र र नेहाको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसबारेमा सरकारको ध्यानाकर्षण गराइन् ।

उनले गृहमन्त्री लेखकको विषयमा जोडिएर आएको समाचारप्रति गम्भीर रहेको र वैवाहिक सम्बन्ध र जातीय कुरालाई लिएर गृहमन्त्रीले ठाडो निर्देशन दिने कुराको विश्वास नलागेको बताइन् । भ्रामक समाचार फैल्याएर चरित्रहत्या गर्न खोजिएको बताइन् । सत्येन्द्र र नेहामाथिको बर्बरता ६० लाख दलित समुदायमाथिको चोट भएको बताइन् । अन्तरजातीय विवाह गर्ने जोडीमाथि बर्बरता गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् ।

बैठकमा नेकपा एमाले सांसद हर्कमाया विश्वकर्माले पनि सत्येन्द्रराम र नेहामाथि राज्यले गरेको व्यवहारको भर्त्सना गरिन् । उनले उनीहरुलाई न्याय दिन माग गरिन् । उनले यस घटनाले जातीय विभेद मात्र नभई यसलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको उल्लेख गरिन् । उनले विवाह दर्तासमेत गरिसकेका जोडीको सम्बन्ध तोड्न राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती छुट्याउन खोज्नु उनीहरुको मानवअधिकार हनन हुनु रहेको बताइन् । यसले नेपालको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्यामाथि घोर अपमान भएको धारणा राखिन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पनि सत्येन्द्रराम र नेहामाथि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराध अनुसन्धान कार्याल्यका प्रमुख एसएसपी सानुराम भट्टराईमार्फत उक्त जोडीलाई पक्राउ पुर्जी जारी गरेको आरोप लगाए । गीतेन्द्रबहादुर (जीबी)राईजस्ता मान्छेलाई पक्रन नसकेको भन्दै सरकारको आलोचनासमेत गरे । उनले निरीह दम्पतीलाई पक्रिएर सरकारले बहादुरी देखाएको उनको टिप्पणी थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले राज्यमा सबै नागरिकको उत्तिकै अस्तित्व र आत्मसम्मान रहेको बताए । उनले आफूलाई सरकार हात्तीको दाँत जस्तै लागेको भन्दै देखाउने र चपाउने अर्को अर्को भएको महसुस गरेको बताए । सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहार अर्को भएको उनको भनाइ छ । विवाह दर्ता भइसकेको सम्बन्धलाई जबरजस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति लागेको भन्दै आपत्ति जनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिषा नेपालीले अन्तरजातीय विवाहसम्बन्धी सर्लाही घटनामा गृहमन्त्री र प्रहरी महानिरीक्षककै संलग्नता रहेको समाचार आइरहेको भन्दै आपत्ति जनाइन् । उमेर पुगेका युवा युवतीहरुले मन मिलेपछि स्वतन्त्रतापूर्वक विवाह गर्न पाउने अधिकार रहेको बताइन् । उनीहरको सम्बन्ध तोड्न राज्य शक्ति नै लाग्नुपर्ने किन ? भन्दै प्रश्न गरिन् ।

उनले सरकारको सिंहासन र बर्दीको दुरुपयोग गरिएको बताइन् । बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले अन्तरजातीय विवाह भइसकेको र वैध ठहरिसकेको जोडीलाई सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाए ।