काठमाडौं, माघ २५ :

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनर्निर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि स्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकारसँग विपद्जन्य घटनाहरुबाट भएको भौतिक संरचनाहरको क्षतिको पुनर्निर्माणका लागि स्रोत सुनिश्चितताबारे जवाफ माग गरेका हुन् । उनले यसबारेमा सरकारले सोचेको छ कि छैन भन्दै प्रश्न गरे । उनले जाजरकोटको भूकम्पबाट करिब ९२ हजारभन्दा बढी घरको पुनर्निर्माण गर्नुपर्ने आकलन गरिएको तर कतिपय नागरिकले दोस्रो किस्तासमेत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले मंसिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवासका निम्ति अनुदान दिने भनिए पनि अझै कतिपयले पहिलो किस्तासमेत नपाएको गुनासो गरे ।

‘जाजरकोटको भूकम्पबाट करिब ९२ हजारभन्दा बढी घरहरुको पुनर्निर्माण गर्नुपर्ने आकलन गरिएको थियो । पुनर्निर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन् । उदेकलाग्दो कुरा त, भर्खर मात्रै डीडीए भएको छ । असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने मंसिर मसान्तसम्म भनियो । अझै कतिले सामान्य पहिलो किस्ताको अनुदान राम्रोसँग नपाएको अवस्था छ । ४१ वटा सडक खण्डको पुनर्निर्माण गर्नका लागि मात्रै २५ अर्ब चाहिन्छ । करिब १ खर्ब रुपैयाँ चाहिन्छ । सरकारले बजेटमा छुट्याएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? यो वर्षामा कसरी बाटोहरु बन्छ । जाजरकोट भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका कामहरुको स्रोत कसरी जुटाउने सोचिएको छ कि छैन । सदनलाई जानकारी गराइयोस्, हामी सुन्न पनि चाहन्छौँ । त्यो छलफलमा भाग लिन पनि चाहन्छौँ ।’

महामन्त्री थापाले जाजरकोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरुको स्रोत कसरी जुटाउने ? भन्दै सरकारलाई प्रश्न गरे ।