
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा उनले प्रतिपक्षी दलले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नु स्वभाविक भए पनि कन्टेन्टमा कुनै नराम्रो कुरा नभएपछि विरोधको अर्थ नहुने बताए ।
उनले विपक्षी दलहरुले यसकारण यो अध्यादेश त्रुटिपूर्ण छ भनेर भन्न नसकेको बताए । उनले सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ अध्यादेश ल्याएको भए दोष देखाइदिन आग्रह गरे ।
‘६ वटा अध्यादेश संसद्मा प्रस्तुत गरिएको छ । केही दिनअगाडि मात्रै प्रस्तुत भयो भनेर उठाउनुभएको छ । विपक्षी दलको हैसियतले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नुलाई मैले अस्वभाविक ठानेको छैन । तथापि मलाई लाग्छ, त्यसको कन्टेन्टका बारेमा समस्या त हामीले देखिरहेका छैनौँ । उहाँले पनि स्पष्ट रुपमा कन्टेनको रुपमा खासै आपत्ति जनाउनुभएको छैन,’ उनले भने ।
डा. महतले अध्यादेश ल्याएकै कारण विरोध गर्ने र फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त नरहेको पनि धारणा राखे । उनले भने, ‘कन्टेनमा कतै समस्या छ भने छलफल गरौँ । अध्यादेश ल्याएकै कारण विरोध गर्नुपर्छ, फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त होइन ।’