काठमाडौँ, माघ २६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन कक्षबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले विकास- निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा  सडक निर्माण भइरहेको भिडियो राखेर उनले  विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’ बाट  छलफल गर्न लागेको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिएका छन् ।
 
“ शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ - थालेको काम सक्ने ।  विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ” प्रधानमन्त्रीले लेखेका छन्,  “पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रुत गतिमा अगाडि बढेका छन् ।” 

प्रधानमन्त्री ओलीले प्रदेशहरूमा विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग जानकारी लिने तयारी छ ।